हाम्रो टिम

संस्थापक/गुठियार


बाबुराम विश्वकर्मा:

गुठीका संस्थापक विश्वकर्मा अढाइ दशकदेखि पत्रकारितामा सक्रिय छन् । खोज पत्रकारितामा विशेष दक्खल राख्‍ने उनी यसअघि बुधवार साप्ताहिक, जनउत्थान मासिक, दलित खबर मासिक, शिक्षक मासिक, नेपाल साप्ताहिक र खोज पत्रकारिता केन्द्रमा संलग्‍न थिए । पत्रकारिता र आमसञ्चारमा स्नातकोत्तर विश्वकर्माले हङकङ विश्वविद्यालयबाट खोज पत्रकारिताको प्रशिक्षण लिएका छन् । विश्वकर्माका दलित र द्वन्द्व तथा भूराजनीतिको भार पुस्तक प्रकाशित छन् । उनी राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार र रोटरी जर्नो अवार्डबाट सम्मानित पनि छन् ।  


जेबी पुन मगर:

गुठीका संस्थापक पुन तीन दशकदेखि पत्रकारितामा सक्रिय छन् । खोज पत्रकारितामा विशेष दक्षता भएका पुन यसअघि नयाँ राज्यसत्ता साप्ताहिक, राज्यसत्ता द्वैमासिक, हिमाल खबरपत्रिका पाक्षिक, खोज पत्रकारिता केन्द्र, इथ्निक भ्वाइस साप्ताहिक, फ्रि प्रेस नेपाल, नीति–विमर्श र नेपालखबर डटकम मा सम्पादकीय भूमिकामा संलग्‍न थिए । पुनले दिल्ली र हङकङ विश्वविद्यालयबाट खोज पत्रकारिता, प्रसारण पत्रकारिता र अनलाइन पत्रकारिता सम्बन्धी प्रशिक्षण र प्राज्ञिक ज्ञान लिएका छन् । उनी स्वतन्त्र अध्ययन एवं शोधमा पनि रुचि राख्छन् । 


मीनरत्न बज्राचार्य:

गुठीका संस्थापक बज्राचार्य फोटो पत्रकारितामा तीन दशक अघिदेखि सक्रिय छन् । अब्बल तस्वीरका लागि राष्ट्रिय फोटो पत्रकारिता लगायतका पुरस्कारबाट पुरस्कृत बज्राचार्यलाई देशको अग्रज फोटो पत्रकार मानिन्छ । नेपाल राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष समेत रहेका उनी हिमाल खबरपत्रिका लगायत सञ्चारमाध्यममा आबद्ध थिए । २०४६ सालको जनआन्दोलनको उत्कर्षको समयमा बज्राचार्यले खिचेका केही तस्वीर नेपाली पत्रकारितामा मानक मानिन्छन् । 


प्रकाश रिमाल:

गुठीका संस्थापक रिमाल तीन दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनले द हिमालयन टाइम्स, राइजिङ नेपाल, द काठमान्डू पोस्ट लगायतमा सम्पादकीय तथा समाचार कक्षको नेतृत्व गरेर नेपालको अंग्रेजी पत्रकारितामा स्थापित परिचय बनाएका छन् । पछिल्लो समय उनी नेपाल मिनेट्स अनलाइनका प्रमुख थिए । आफूलाई पत्रकारिताको विद्यार्थी भन्‍न रुचाउने रिमाल खोज तथा गहन पत्रकारितालाई आफूसम्बद्ध सञ्चारमाध्यम मार्फत अघि बढाउन विशेष सक्रिय थिए । हाल उनी स्वतन्त्र पत्रकारका रूपमा पत्रकारिता, अनुसन्धान र मिडियासँग सम्बन्धित काममा संलग्न छन् ।   


प्रशान्त अर्याल:

गुठीका संस्थापक अर्यालको नेपाली पत्रकारितामा तीन दशकभन्दा बढीको अनुभव छ । तत्कालीन सुरुचि साप्ताहिकबाट पत्रकारिता शुरू गरेर कान्तिपुर दैनिक, नेपाल साप्ताहिक, कान्तिपुर टीभी, ग्यालेक्सी फोके टीभीका प्रधानसम्पादक रहिसकेका उनले नेपाल साप्ताहिकलाई गहन तथा खोजमूलक म्यागेजिनको रूपमा स्थापित गराउन निर्णायक भूमिका निर्वाह गरेका थिए । साथै नेपाली टेलिभिजन पत्रकारितालाई नयाँ ढंगबाट अघि बढाउने कार्यमा पनि उनको नेतृत्वदायी भूमिका रह्यो ।
सन् १९९९ मा खोज पत्रकारिताका लागि ‘ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल जर्नालिज्म अवार्ड’ र सन् २०१७ मा सम्पादक समाज नेपालद्वारा पत्रकारितामा पुर्‍याएको योगदान बापत ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’बाट पनि पुरस्कृत भइसकेका उनी हाल स्वतन्त्र लेखन एवं शोधमा सक्रिय छन् ।   


रोजिता अधिकारी:

गुठीकी संस्थापक अधिकारी स्वतन्त्र पत्रकार हुन् । लामो समयदेखि पत्रकारितामा सक्रिय रहेकी उनले श्रव्य–दृश्य र छापा माध्यममा आफूलाई सशक्त रूपमा चिनाएकी छिन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराबाट प्रसारित नेपाली महिलाको प्रसूति पीडाबारे उनीद्वारा निर्मित न्युज डकुमेन्ट्री ‘सेभिङ नेपाल्स मदर्स’ले गोल्ड मेडल पाइसकेको छ । उनी हाल अलजजिरा सहित गार्जियन, टाइम्स लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा याेगदान गर्छिन् । 


शरद केसी:

गुठीका संस्थापक केसी झण्डै तीन दशक अघिदेखि नेपाली पत्रकारितामा सक्रिय छन् । गहन तथा खोज पत्रकारितामा विशेष दक्ष केसी करीब दुई दशकदेखि अन्तर्राष्ट्रिय सञ्चारगृह बीबीसी नेपाली सेवामा कार्यरत छन् । यसअघि उनी देशान्तर साप्ताहिक, रेडियो नेपाल, हिमाल खबरपत्रिका लगायत सञ्चारमाध्यमसँग सम्बद्ध थिए । कानूनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर केसी लामो समय माओवादीको उद्गमस्थल मानिने तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको नेपालगञ्जमा कार्यरत थिए । उनीसँग माओवादी द्वन्द्वकालमा राप्ती, भेरी, कर्णालीका साथै सुदूरपश्चिमका पहाडी जिल्लाका हिंसाग्रस्त क्षेत्रको गहन र जोखिमपूर्ण रिपोर्टिङ गरेको अनुभव छ ।


सुदर्शन घिमिरे:

गुठीका संस्थापक घिमिरे तीन दशकदेखि पत्रकारितामा सक्रिय छन् । पत्रकारिता मार्फत देशको सार्वजनिक शिक्षा सुधारको अभियानमा सक्रिय घिमिरे शिक्षा पत्रकार समूहका संस्थापकमध्येका एक हुन् । देशान्तर साप्ताहिक, शिक्षक मासिक, खोज पत्रकारिता केन्द्र तथा सिकाइ समूह लगायत सञ्चार संस्था मार्फत घिमिरेले पत्रकारिता र शिक्षाको सुधारमा योगदान गरेका छन् ।

This site uses cookies. By continuing to browse the site you are agreeing to our use of cookies Find out more here