रूस–युक्रेन युद्धमा नेपालीको नियतिः मृत्यु, बन्धक र घाइते, सरकारी संयन्त्र लाचार


असंलग्न परराष्ट्र नीति अपनाएको नेपालका नागरिक सैन्य सम्झौता नभएका युद्धग्रस्त मुलुकका सेनामा भर्ती भएर अकालमा ज्यान गुमाइरहेका छन् । त्यसमाथि सरकारी बेवास्ता यति चरम छ कि परिवारजनले काजकिरिया गर्न मृतकको लास समेत पाएका छैनन् । घाइते र बन्धकको अवस्था अज्ञात छ । असंलग्न परराष्ट्र नीतिको बर्खिलाफ हुँदा समेत सरकारी संयन्त्रलाई लाजसम्म हुँदैन । 


रूस–युक्रेन युद्धमा नेपालीको नियतिः  मृत्यु, बन्धक र घाइते, सरकारी संयन्त्र लाचार

बायाँबाट क्रमशः  रूसी सेनामा ज्यान गुमाउने गोरखाका सन्दीप थपलिया, दोलखाका राजकुमार रोका, इलामका गंगाराम मोक्तान कपिलबस्तुका रुपक कार्की र कास्कीका देवान राई


पढाइको लागि भनेर अघिल्लो वर्ष रूस पुगेका गोरखाका सन्दीप थपलिया १ जेठ २०७९ मा रूसी सशस्त्र बलमा भर्ती भए । स्वास्थ्य प्राविधिक पढेका उनी जेठ २४ गतेसम्म परिवारको सम्पर्कमा थिए । भर्ती भएको एक महीना पनि तालिम गर्न नपाई उनलाई १४ असार २०८० मा युक्रेनी भूमि बाखमुट पठाइयो । रूसी सरकारले परिवारलाई उपलब्ध गराएको पत्र अनुसार थपलियाले त्यहीं ज्यान गुमाए ।

शुरूमा सन्दीपको मृत्यु भएको खबर बाहिर आए पनि मस्कोस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयबाट खोजीको कुनै पहल भएन । परिवारको लामो प्रयासपछि रूसमा कार्यरत नेपालीको सहयोगमा उनको शव रूसको एमनभो टलोस्टी भन्ने ठाउँमा राखिएको पत्ता लाग्यो । परिवारले पाएको फोटोमा सन्दीपको शव राखिएको ठाउँलाई ‘चिहान नं. २१’ नाम दिइएको छ, जहाँ रूसी भाषामा उनको नाम, जन्म र मृत्यु मिति उल्लेख छ । यद्यपि परिवार भने दाहसंस्कारका लागि ६ महीनादेखि प्रयासरत छ । “मेरो दाइको अस्तु भए पनि पाउन पाए अन्तिम दाहसंस्कार गर्न मिल्थ्यो, हामीलाई पनि सन्तोष हुन्थ्यो तर कसैले पनि सहयोग गरेका छैनन्”, उनकी बहिनी शान्ताले भनिन् ।

रूसी सशस्त्र बलमा कार्यरत एक सिपाहीसँग शोधखोजका लागि गरिएको कुराकानीका दौरान उनले सन्दीपको शरीर बमले क्षत–विक्षत भएर केही पनि बाँकी नरहेको सुनाए । यस प्रतिनिधिको सम्पर्कमा आएका उनी आफैं पनि घाइते सिपाही हुन् । उनका भनाइमा उनीसँगै अरू १२ जना नेपाली पनि घाइते छन्, जो मस्कोमा उपचार गराइरहेका छन् । उनीहरू युद्धग्रस्त क्षेत्र कूप्यान्स्कमा घाइते भएका थिए । उनीहरू सँगैका थप दुई नेपाली भने युद्ध क्षेत्रमै खटिइरहेका छन् ।

बर्दिया राजापुरका विवेक खत्रीको कथा पनि कम दर्दनाक छैन । अघिल्लो वर्ष कात्तिक आधा–आधीसम्म उनी काठमाडौंमा थिए । प्लस टु सकेर पढाइका आएका २३ वर्षीय विवेकले ६ महीना काठमाडौंको एक निजी इन्टरनेट सेवा प्रदायक कम्पनीमा काम गरे । कमाइले खान बस्नै पुगेन, पढाइ त टाढाको कुरो भयो ।

घरमा आमा नसा सम्बन्धी रोगले थलिएकी थिइन् । छारेरोगले पीडित बुवा खेतीपाती गरेर बचेको समयमा मजदुरी गर्न भारत जान्थे । उनको कमाइले घरखर्च चलाउन पनि मुश्किल भइरहेको थियो । यसबाहेक हुर्किंदै गरेका भाइ–बहिनीको पढाइ खर्च जुटाउनु विवेकको बाध्यता थियो ।

नेपालमा काम गरेर पढाइ र घरखर्च धान्न नसकिने अनुभव गरेपछि उनले रूस जाने योजना बनाए । छोराले पढे राम्रो होला भन्ने आशामा बुुवाले ऋण गरेर १० लाख रुपैयाँ जुटाइदिए । अर्थशास्त्र अध्ययनका लागि रूस गएपछि उनले एक वर्ष रूसी भाषा अध्ययन गर्नु अनिवार्य भयो । पहिले नै ऋणले थिचिएका उनलाई त्यहाँ भाषा अध्ययन गर्दा काम नगरी बाँच्न असम्भव भयो ।

युक्रेनी सेनाको कब्जामा परेका विवेक खत्रीका बुबा र आमा

त्यहीबेला रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यहाँ बसोबास गरिरहेका विदेशीलाई पनि उनको सशस्‍त्र बलमा भर्ती हुने बाटो खुला गरे । परिवर्तित कानूनमा रूसी सशस्‍त्र बलमा एक वर्ष काम गरे त्यहींको नागरिकता र पासपोर्ट पाइने, राष्ट्रिय सेनामा प्रवेश पाइने प्रावधान समेटियो । भविष्यमा परिवार सहित रूसमा बस्‍न मिल्ने आवासीय सुविधा दिने व्यवस्था गरिएको थियो भने सेनामा भर्ती हुन उमेरको कुनै हदबन्दी राखिएन । यसले जुनसुकै देशका नागरिकलाई रूसी सैनिक सेवा प्रवेश सहज बनायो ।

आफूसँगै गएका साथीहरू धमाधम रूसी सशस्त्र बलमा भर्ती हुन थालेपछि विवेकको पनि मनस्थिति बदलियो । विवेक रूसको सशस्‍त्र बलमा भर्ती भए । तर तीन महीनामै उनी युक्रेनी सैनिक प्रहरीको कब्जामा परे । परिवारले दिएको जानकारी अनुसार करीब साढे दुई महीनाअघि अपरिचित विदेशी नम्बरबाट ह्वाट्सएपमा उनका भाइ विशाललाई फोन आयो । तर उनी ‘अफ लाइन’ थिए फोन ‘मिस्ड’ भयोे । “कल ब्याक गर्दा तिम्रो दाजु युक्रेनको जेलमा छ, पासपोर्टको कपी छ भने पठाइदेऊ भन्यो” भाइ विशाल खत्री ह्वाट्सएपमा भएको कुराकानी सम्झन्छन्, “हामीले दाइको खोजी गर्दा एकछिन कुरा गर्न दिए । दाइले सक्ने भए पासपोर्टको कपी पठाऊ नभए केही नगर भनेर फोन राखिदियो । त्यसयता केही खबर छैन ।”

विवेकको परिवारले उनका साथीहरूबाट राहदानीको प्रतिलिपि त्यही अपरिचित व्यक्तिको ह्वाट्सएपमा पठाएका छन् । छोरो पक्राउ परेको खबर सुनेर मजदुरीको लागि भारत पुगेका उनका बुवा घर आइपुगेका छन् । बिरामी आमाको दिन रोएरै बितिरहेको छ । तर उनको पुकारा सरकारले सुनेको छैन । उनलाई युक्रेनको कब्जाबाट मुक्त गर्न अहिलेसम्म सरकारी स्तरबाट कुनै पहल भएको छैन । उनको पछिल्लो अवस्था अज्ञात छ ।

विवेकका बुवा जयबहादुर खत्रीका भनाइमा, भर्ती हुने बेला उनले घरमा पनि सोधेका थिए । जति ऋण–दुःख भए पनि सहौंला भन्दै घर फर्कन भनेका थिए । “केटीहरू त गइरहेका छन्, साथीहरू सबै गए । म पनि गएर ऋण तिर्छु, आमाको उपचार गर्छु, पछि तपाईंलाई पनि यहीं ल्याएर राख्छु भनेर गएको हो” जयबहादुर भन्छन्, “अहिले आएर यस्तो भयो ।”

घाइतेलाई फर्कन रोक

मेकानिकल इन्जिनियरिङ अध्ययन गरेका विवश वीरगञ्जमा इन्जिनियरिङ पढाइ सकेर काठमाडौं आए । त्रिपुरेश्वरस्थित एक कम्पनीमा काम गरिरहेका थिए । कामको खोजीमा सुदूरपश्चिमबाट वीरगञ्ज पुगेका उनका बुबा त्यहाँ सारीमा बुट्टा भरेर घरखर्च चलाउँथे । तर पनि जेठो छोरालाई जेनतेन प्राविधिक शिक्षा पढाए । विवश बाहेक अरू दुई छोरा पनि अध्ययन गरिरहेकाले उनलाई पढाइ खर्च जुटाउन समस्या थियो । घरको समस्या देखेका विवश कामको खोजीमा काठमाडौं त पसे तर कमाइ त्यस्तो भएन ।

नेपालमा भविष्य नदेखेपछि उनी विदेश गएर पैसा कमाउने सोचले एक एजुकेसन कन्सल्टेन्सी (शैक्षिक परामर्शदाता कम्पनी)लाई ६ लाख रुपैयाँ बुझाएर रूस गए । त्यहाँ औपचारिक पढाइ शुरू गर्न उनले पनि रूसी भाषा पढ्नैपथ्र्यो । घरबाट लगेको पैसा केही महीनामै सकियो । काम गर्न त चाहेका थिए तर खोजे जस्तो काम रूसमा पनि भेटिएन ।

त्यही समयमा रूसी कानुनमा संशोधन भयो । वैधानिक रूपमा रूस बसाइको सुविधा पाउने लोभमा उनी पनि रूसी सशस्‍त्र बलमा भर्ती भए । रूसी भाषामा लेखिएको एकवर्षे करार सम्झौतामा शुरूका तीन महीना तालिम गराउने अनि मात्र लडाइँमा पठाउने भनिएको थियो ।

अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सका अनुसार युक्रेनसँगको लडाइँमा ठूलो संख्यामा करीब १ लाख २० हजार रूसी सेनाले ज्यान गुमाएका छन् भने १ लाख ७० हजार घाइते भएका छन् । यसले गर्दा सैन्य अभाव पूर्ति गर्न रूसलाई चुनौती थियो । त्यसैले भर्खर भर्ती भएका रूसी सशस्त्र बलका जवानलाई केही हप्ता सामान्य बन्दूक र ड्रोन चलाउने तालिम दिएर एक महीनामै ‘रेडजोन’ का रूपमा रहेको बाखमुट र आसपासका क्षेत्रमा पठाइयो ।

रूसले कब्जा गरेको युक्रेनी भूमि बाखमुट रक्षा गर्न रूसको तर्फबाट त्यहाँ खटाइएका विवश गत असारको अन्तिम साता युक्रेनी सेनाकोे मिसाइल आक्रमणमा परे । जन्मभूमि नेपालभन्दा पाँच हजार किलोमिटर परको पराइ देशको भूमि रक्षा गर्न गएका उनी बाखमुटमै घाइते भए । मिसाइलले सन्तोषका दुवै हातमा क्षति पुग्यो । दुवै खुट्टा जले ।

बन्दूक मात्र लिएर लडाइँमा गएका उनी शुरूमा घाइते हुँदा कागजातको अभावमा उपचारमा ढिलाइ भयो । पछि साथीहरूले सम्झौतापत्र पठाइदिएपछि मस्कोस्थित अस्पतालमा दुई महीना लामो उपचार गराए । विभिन्न चरणका शल्यक्रिया गरिए पनि उनी अहिले रूसमै छन् । सैन्य कामका लागि गरेको एक वर्षको सम्झौता अवधि नसकिएकाले उनलाई नेपाल आउन पनि दिइएको छैन ।

“छोरो पठाउन लागेकोे ऋणको ब्याज हरेक महीना ३० हजार तिर्नुपर्छ । गरीब मान्छे हुँ, अझै दुई छोरालाई पढाउनु छ । कसरी गर्ने हो ?” उनका बुबा आफ्नो बाध्यता सुनाउँछन् । खबर सुनेदेखि महीना दिनसम्म त उनकी आमा मूर्च्छा परिरहन्थिन्, अहिले अलि सम्हालिएकी छन् ।

विवशसँगै रूसी सशस्त्र फौजमा भर्ना भएका पश्चिम नवलपरासीका दिनेशले पनि मिसाइल आक्रमणमा हात गुमाएका छन् । बाखमुट लडाइँमा घाइते भएपछि कागजातको अभावमा शुरूमा औषधि उपचारबाट वञ्चित भएका उनको पछि मस्कोको अस्पतालमा उपचार भयो । उपचार पछि उनलाई पनि नेपाल फर्किन दिइएको छैन । कारण उही हो– एकवर्षे करार ।

नेपाल सरकारसँग रूसको सेना भर्तीबारे कुनै सम्झौता नभएको भए पनि रूसी फौजमा भर्ती भएका युवाहरूले व्यक्तिगत हैसियतमा सेनामा भर्ना हुने सम्झौतामा हस्ताक्षर गरेका छन् । अहिले एक वर्षको लागि रूसी सशस्त्र फौजमा भर्ना भएकाहरू त्यसपछि रूसी सेनामा भर्ना हुन पाउने छन् । तर एक वर्षको अवधिभर सशस्त्र बल छोडेर कहीं कतै जान नपाउने प्रावधान छ र यदि कसैले सम्झौता उल्लंघन गरेर भागे १० वर्षको काराबास भोग्नुपर्छ । यही डरले उनीहरू त्यहाँबाट उम्कन सकिरहेका छैनन् ।

बेरोजगारीले ‘भाडाका सिपाही’

पढाइका लागि भनेर रूस पुगेका गोरखा बुङ्कोटका रमेश पनि रूसी सशस्त्र बलमा भर्ती भएका छन् । भारतीय र बेलायती सेनामा भर्ती हुन गरेको तीन पटकको प्रयास असफल भएपछि उनी अन्ततः रूस गएका थिए । विदेशी भूमिमा युक्रेन विरुद्ध लड्दैछन् । उनको नागरिकताको मुलुक नेपालले संयुक्त राष्ट्रसंघमा पेश भएको प्रस्तावमा युक्रेनको पक्षमा मतदान गरेको थियो । तर उनीचाहिं विदेशी भूमिमा भाडाका सिपाहीका रूपमा त्यही युक्रेन विरुद्ध लडिरहेका छन् ।

रूसी फौजमा कार्यरत युवाहरूको सम्पर्कमा रहेका सांसद राजेन्द्र बजगाईं ७ हजार नेपाली युवा रूसी सशस्त्र बलमा भर्ती भएको बताउँछन् । अवैध रूपमा भर्ती भएकाले यसको आधिकारिक पुष्टि भएको छैन । विवशले उनको समूहमा मात्र ४५ जना नेपाली भर्ती भएको परिवारलाई बताएका थिए । पूर्वदेखि पश्चिमसम्मका युवा रूसी फौजमा भर्ती भएका छन् ।

शोधखोज प्रतिनिधिको सम्पर्कमा आएका घाइते एक सिपाही भने मृत्यु हुने नेपाली युवाको संख्या करीब १०० भएको आकलन गर्छन् । भन्छन्, “युद्धको अग्र मोर्चा (फ्रन्टलाइन) मै करीब ६०० नेपाली हुनुपर्छ । त्यसमध्ये २०० जति त लडिनै रहेका छन् । करीब ३०० जति घाइते होलान् । हताहती त धेरै भएको हुनुपर्छ, सार्वजनिक नगरिएकोले थाहा नभएको हो ।”

विवेक खत्रीको घर। 

रूसी सशस्त्र बलमा भर्ती भएका र हामीसँग कुरा गरेका अधिकांश नेपाली युवा यसअघि भारतीय र बेलायती सेनाको लागि प्रतिस्पर्धामा गएको र असफल भएको बताउँछन् । सुरक्षाका कारण नाम खुलाउन नचाहने ती युवाहरू जोखिम भए पनि बेरोजगार भएकै कारण ‘भोकै मर्नुभन्दा युद्धमा मर्नु ठीक’ भन्दै रूसी फौजमा भर्ती भएको बताउँछन् ।

कतिसम्म भने पूर्व सैनिक र प्रहरी समेत रूसी फौजमा भर्ती हुन गएका छन् । नेपाली सेना र प्रहरीबाट सेवानिवृत्त भएर दुबई, कतार, ओमान लगायत खाडी मुलुकमा सुरक्षा गार्डको रूपमा काम गरिरहेका नेपालीहरू पनि राम्रो तलब र रूसी नागरिक हुने लोभमा रूसी फौजमा भर्ती भइरहेको मस्कोमा रहेका नेपालीले बताएका छन् । उनीहरूका अनुसार, युद्धका लागि जति पनि सैनिक भर्ती गर्न सक्ने सामथ्र्य भएको रूसले अन्य कामका लागि भन्दा पनि सैन्य भर्नाका लागि भनेर अध्यागमनमा पुग्नेहरूलाई सहजै प्रवेश दिइरहेको छ ।

कसरी गइरहेका छन् ?

भर्ती भएका युवाहरूले तालिमको क्रममा सामाजिक सञ्जाल टिकटकमा भिडिओ अपलोड गरिरहेकाले अरू युवा पनि आकर्षित भएका हुन् । त्यसैले सम्पर्कमा आएकाहरूको भनाइका आधारमा नेपाल र खाडी मुलुकबाट रूस जाने क्रम रोकिएको छैन । पढाइ र कामको खोजीमा रूस पुगेका र अन्य युरोपेली मुलुक छिर्न मस्कोलाई ट्रान्जिट बनाउने अरू नेपाली पनि रूसी सशस्त्र बलमा भर्ती भएका छन् ।

पछिल्लो समय पैसाको लोभमा खाडी मुलुकमा कार्यरत नेपालीहरू भिजिट भिसामा रूस पुगिरहेका छन् । नेपालबाट केही म्यानपावर कम्पनीले १० लाख रुपैयाँ लिएर भिजिट भिसामा रूस पठाउने गरेको रूसी सशस्त्र बलमा कार्यरत युवाहरू सामाजिक सञ्जालमा बताइरहेछन् । रूसी सेनामा नेपालीहरूको भर्तीबारे प्रहरीले सतर्कता त बढायो, उनीहरूलाई रोक्न शुरूमै पुग्दो पहल गरेन ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका वरिष्ठ उपरीक्षक जीवन श्रेष्ठले नेपालीहरू रूसी सेनामा भर्ती भएको खबर आएपछि निगरानी गरेर केही शंकास्पद व्यक्तिलाई विमानस्थलबाट फिर्ता गरेकोसम्म बताउँछन् । “उजुरी नै नआएकाले म्यानपावर माथि अनुसन्धान भएन । तर भिजिट भिसामा रूस जान लागेकाहरूलाई हामीले फर्काइदिएको हो । अहिले पनि त्यहाँ प्रहरीले निगरानी गरिरहेको छ” श्रेष्ठ भन्छन्, “फर्काइएकाहरूले म्यानपावर कम्पनीबारे केही भनेनन् ।”

एकपछि अर्को गर्दै ६ जनाको युद्धमा ज्यान गएपछि मंसीरको तेस्रो साता प्रहरीले नेपालीलाई रूसी फौजमा भर्ती हुन पठाएको अभियोगमा १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूमाथि युवालाई प्रलोभनमा पारेको आरोप लगाएको छ । एकसाथ केही पूर्व सुरक्षाकर्मी सहित १२ जना पक्राउ परेको यो घटनाले रूसी फौजमा नेपाली पठाउन संगठित गिरोह नै सक्रिय रहेको प्रहरीको आशंका छ ।

त्यसलाई बितेको एक वर्षमा भिजिट भिसामा रूस गएका नेपालीको संख्याले थप पुष्टि गर्दछ । अध्यागमन विभागका अनुसार, २०७९ पुस आधाआधीदेखि २०८० मंसीर १४ सम्म श्रम र भिजिट भिसामा करीब २९०० नेपाली रूस गएका छन् ।

विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ५१ जनाले मात्र श्रम स्वीकृति लिएकोमा रूसी सेनामा विदेशीलाई पनि भर्ती गर्ने रूसी निर्णय पछि रोजगारीको लागि भनेर रूस जानेहरूको संख्या एक्कासी बढेको देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा ३८६ जना रोजगारीका लागि भनेर रूस गएका छन् ।

रूसी फौजमा शुरूमा भर्ना हुने नेपालीहरूमा पढ्न भनेर रूसमा गई कामको खोजीमा भौंतारिएका विद्यार्थी थिए । उनीहरूले रूसी फौजमा राम्रो तलब पाइने सन्देश सहितका भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेपछि खाडी मुलुकमा काम गरिरहेका युवाहरू पनि त्यतैबाट भिजिट भिसामा रूस पुगेर सेनामा भर्ती भएको देखिन्छ ।

विवेक खत्रीको परिवार।

रूस–युक्रेन युद्धमा ज्यान गुमाएका गोरखाका सन्दीप हुन् या घाइते वीरगञ्जका विवश वा युक्रेनी सेनाको बन्धक भएका बर्दियाका विवेक, सबै अध्ययनका लागि भनेर रूस गएका थिए । रूसी अध्यागमन कानूनमा संशोधनपछि अध्ययनका लागि गएका विद्यार्थीहरू त्यहाँको फौजमा भर्ती हुन आकर्षित भए । त्यहाँ पढिरहेका युवा त गए गए, नेपालबाट पढ्न भनेर हिंडेका पनि रूसी फौजमा भर्ती भएका छन् ।

सरकारी तथ्यांकले पनि अघिल्लो वर्ष उल्लेख्य संख्यामा नेपालीहरू पढ्नका लागि रूस गएको देखाउँछ । शिक्षा मन्त्रालयका अनुसार सन् २०२१ मा १६६ जनाले मात्र अध्ययनका लागि स्वीकृति लिएका थिए । विदेशी नागरिकलाई सेनामा भर्ती दिने रूसी निर्णय पछि सन् २०२२ मा १४५८ जनाले अध्ययनका लागि स्वीकृति लिएका छन । अधिकांशले अध्ययनका लागि रूस जान एजुकेशन कन्सल्टेन्सीहरू मार्फत प्रक्रिया पूरा गर्दछन् ।

साथै पोल्याण्ड लगायतका पूर्वी युरोपेली मुलुकमा कामदार भिसामा जाने र त्यहींबाट रूसी सेनामा भर्ती हुने गरेका छन् । रूसी फौजमा नेपालीको संलग्‍नताबारे मौन बस्दै आएको सरकारले एकपछि अर्को मृत्युको खबर आउन थालेपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालको संयोजकत्वमा एक समिति गठन गरेको छ । मंसीर १४ मा गठित तीन सदस्यीय समितिलाई रूसी सेनामा नेपाली पठाउने शैक्षिक परामर्शदाता, ट्राभल एजेन्सी र अवैध रूपमा घरेलु कामदार लैजाने गिरोहको बारे अध्ययन गरेर १५ दिनमा प्रतिवेदन बुझाउन भनिएको छ ।

बेकम्मा कूटनीति, लाचार सरकार

केही नेपाली युवा युक्रेनी फौजमा पनि भर्ती भएको सामाजिक सञ्जालबाट खुलेआम बताइरहेका छन् । थाहा भएर पनि सरकारले रूस, युक्रेन लगायत विदेशी फौजमा नेपाली युवा भर्ती भइरहेको विषय लामो समयसम्म स्वीकार गरेको थिएन । साउनको तेस्रो हप्ता नेपाली बन्धक भएको घटना बाहिर आएपछि सरकारले पीडितलाई निवेदन दिन आह्वान गरेर सोधखोज थालेको छ ।

मन्त्रालयमा पुगेर निवेदन दिएपछि रूसी सेनामा भर्ती भएका एक जनाको मृत्युको खबर पुष्टि गर्‍यो भने मंसीरको तेस्रो साता ६ जनाले ज्यान गुमाएको जानकारी दियो । साथै रूसी फौजमा भर्ती गरिएका नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्न रूस सरकारलाई कूटनीतिक नोट पठाएको छ । यसबाहेक सरकारी सक्रियता लगभग छैन ।

विवेकको परिवारले सकुशल उद्धारका लागि मन्त्रालयमा निवेदन दिएको दुई महीना भए पनि कुनै पहल भएको छैन । “मन्त्रीज्यूले चिन्ता नलिनु हामी सकेको गर्छौं भन्नुभएको थियो । अहिलेसम्म केही भएको छैन”, विवेकका आफन्त खड्क कार्की भन्छन् ।

सन् १९५६ मा कूटनीतिक सम्बन्ध कायम भएको रूसी राजधानी मस्कोमा नेपाली दूतावास छ । राजदूत सहित एक जना द्वितीय सचिव र श्रम सहचारी सहित तीन जना कर्मचारी रहेको दूतावासमा यसअघि नै रूसी सेनामा भर्ती भएका युवाहरू घाइते भएको खबर आएपछि पीडित परिवारले उद्धारका लागि पहल गरिदिन मौखिक अनुरोध गरेका थिए । दूतावासले लिखित निवेदन लिन आनाकानी गरेपछि पीडित परिवारले काठमाडौंमा पराराष्ट्र मन्त्रालय पुगेरै निवेदन दर्ता गराएका थिए ।

रुसी सेनामा नेपालीहरुको मृत्युबारे परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति

राजनीतिक कार्यकर्तालाई जागिरका लागि जथाभावी दूतावास खोल्ने तर भइरहेका दूतावासले गम्भीरतापूर्वक काम गरेको देखिन्न । जस्तो, भर्खरै सरकारले पोर्चुगलमा दूतावास खोल्ने निर्णय गरेर राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको छ । तर पुरानामध्येका मस्कोस्थित दूतावासले नै रूसी फौजमा नेपाली भर्ती र तिनको फिर्ता सम्बन्धमा खासै केही गर्न सकेको छैन । यसमा दूतावास मात्रै हैन, परराष्ट्र मन्त्रालय समेत निरीह देखिएको छ ।

युद्धमा घाइते र बन्दी बनाइएका नेपालीका परिवारहरूले सरकारको तर्फबाट उद्धारका लागि कुनै पहल नभएको गुनासो गरेका छन् । सरकारभन्दा पनि व्यक्तिगत पहलका आधारमा शव राखिएको स्थान पहिचान भए पनि शान्ता थपलियाले अन्तिम दाहसंस्कारको लागि पार्थिव शरीर वा अस्तु केही पनि पाउन सकेकी छैनन् । घाइतेहरूको उद्धारमा चासो दिइएको छैन । अहिले पनि रूसी सेनामा भर्ती भइरहेका युवाहरूलाई रोक्न केही पहल गरिएको छैन ।

पीडित परिवारले सबै घटनाहरूको बारेमा परराष्ट्र मन्त्रालयलाई जानकारी दिइरहेका छन् । परराष्ट्र मन्त्रालयकी प्रवक्ता (हाल सचिव) सेवा लम्सालले मिडियाबाट जानकारी आएको र मन्त्रालयले प्रेस वक्तव्य जारी गरेको बताइन् । “नेपाली संसारका सबै मुलुकमा काम गरिरहेका छन्, उनीहरूको गतिविधि निगरानी कठिन छ” लम्साल लाचारी प्रकट गर्छिन्, “रूसी फौजमा नेपालीको भर्ती सरकार संलग्‍न भएर गरेको होइन । उहाँहरू अध्ययन र पर्यटन भिसामा गएर भर्ती भएको भन्ने बुझेका छौं । जे कामको लागि गएको त्यही भएको भए यस्तो हुने थिएन ।”

रूस–युक्रेन युद्धका कारण पीडित भएकाहरू भने सरकारी बेवास्ताले दिक्क भएको बताउँछन् । युक्रेनी सैनिक प्रहरीको बन्दी बनेका विवेकको परिवारले युक्रेनी पक्षबाट सामाजिक सञ्जालमा सार्वजनिक विवेकको भिडिओ देखेलगत्तै परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए । “निवेदन दिएको हो । तर अहिलेसम्म केही सुनुवाइ भएको छैन”, विवेकका भाइ विशाल भन्छन् ।

असंलग्‍न परराष्ट्र नीति विरूद्धको काम

नेपाल, भारत र बेलायतबीच सन् १८१६ मा भएको त्रिपक्षीय सम्झौता अनुसार १९ देखि २१ वर्ष उमेर समूहका नेपाली युवाहरू बेलायती र भारतीय सेनामा भर्ती हुँदै आएका छन् । बेलायती फौजमा भर्ती भएका नेपाली गोर्खाहरूलाई त्यहाँको सेनाले ब्रुनाई सेना र सिंगापुर प्रहरीमा पठाउँदै आएको छ । ब्रिटिश गोर्खाहरू नाटो सदस्य रहेको बेलायती सेनाको प्रतिनिधित्व गर्दै अफगानिस्तान, इराक लगायतका युद्धग्रस्त क्षेत्रमा पनि खटिन्छन् ।

सैन्य भर्ना सम्बन्धी सम्झौता भएका बेलायत र भारत बाहेकका अन्य देशमा भर्ती हुनु गैरकानूनी काम हो । तर, असंलग्न परराष्ट्र नीतिको प्रवर्तक नेपालले छिमेकी विरुद्धका लडाइँमा आफ्ना नागरिक प्रयोग गरिरहेछ । गरीबी, बेरोजगारी र राजनीतिक अस्थिरताका कारण नेपाली युवाहरू रोजगारीको खोजीमा सैन्य भर्ती सम्झौता नभएका मुलुकमा पनि फौजमा भर्ती हुन थालेका छन् । रूसी फौजमा भर्ती यसको सबैभन्दा ताजा उदाहरण हो ।

कानूनतः नेपाली नागरिकता नत्यागेसम्म अरू देशको सेनामा काम गर्न पाइँदैन । अहिले अमेरिकी सेना, फ्रान्सको फ्रेन्च लेजियन, युनाइटेड अरब इमिरेट्सको आम्र्ड गार्डमा पनि नेपाली युवा भर्ती भएका छन् ।

आफूखुशी विदेशी सेनामा जान थालेपछि युद्धग्रस्त क्षेत्रमा मृत्यु हुने नेपालीको संख्या बढ्दै गएको छ । सन् २०१६ मा १४ जना नेपाली सुरक्षाकर्मीको तालिवानी सेनाको बम विस्फोटमा परी ज्यान गएको थियो । त्यसअघि सन् २००५ मा सुरक्षाकर्मीका रूपमा काम गर्न हिंडेका १२ जना नेपालीको इराकमा हत्या भएको थियो । अफगानिस्तानको दुःखद् घटनापछि दर्जनौं नेपालीलाई तत्काल उद्धार गरेर नेपाल ल्याइए पनि फेरि त्यहाँ गएर काम गर्ने क्रम रोकिएन । सन् २०२१ म तालिवान सत्तामा आएपछि विभिन्न विदेशी दूतावासको सुरक्षार्थ कार्यरत नेपाली सुरक्षा गार्डको उद्धार गरिएको थियो ।

विदेशी सुरक्षा बलमा भर्ती भएका नेपाली युवाहरू सुरक्षाको हिसाबले संवेदनशील र जोखिम मानिएका क्षेत्रमा खटाइने गरेका छन् । उदाहरणका लागि भारतीय सेनामा भर्ना भएका नेपालीहरू द्वन्द्वग्रस्त भारत नियन्त्रित काश्मिर र चीनसँग सीमा विवाद रहेको गलवान क्षेत्रमा परिचालित छन् । चीन र भारतको बीचमा रहेको नेपालले भारतीय सेनामा सहभागी भएर चीन विरुद्धको लडाइँमा साथ दिएको सन्देश प्रवाह भइरहेको छ । भारतीय सेनामा कार्यरत नेपालीले ती क्षेत्रमा मृत्युवरण गरेमा मृतकका आफन्तले उनीहरूको दाहसंस्कारसम्म पनि गर्न पाउँदैनन् ।

पछिल्लो समय रूसी सशस्त्र बलमा उल्लेख्य संख्यामा र केही युक्रेनी सेनामा पनि भर्ती भएको सैन्य मामिलाका जानकार विनोज बस्न्यात बताउँछन् । “नेपालीहरू विदेशी सेनामा भर्ती भइरहनुको एउटा नभई धेरै कारण छन् । यदि रणनैतिक हिसाबले हेर्ने हो भने हाम्रो शासन प्रणाली नै हो” थाइल्याण्डको राङसिट विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र सुरक्षा विषयमा अनुसन्धानरत नेपाली सेनाका अवकाशप्राप्त मेजर जनरल बस्न्यात भन्छन्, “अर्को भनेको हरेक वर्ष नेपाली श्रम बजारमा आउने युवाहरूलाई काममा लगाउन नसक्नु हो ।”

हरेक वर्ष ८ लाख युवा नेपाली श्रमबजारमा कामका लागि तयार हुन्छन् । तीमध्ये नेपालले मुश्किलले ८० हजारसम्म युवालाई मात्र कामको व्यवस्था गर्न सक्छ, बाँकीका लागि देशमा रोजगारीको अवसर छैन । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा कामका लागि ७ लाख ७५ हजार युवा विदेश पुगे । सोही अवधिमा १ लाख १० हजार विद्यार्थी पढ्नका लागि भनेर देश छोडेका छन् । यसबाहेक नेपालसँग खुला सीमानाका कारण कुनै आधिकारिक तथ्यांकमा दर्ता नहुने भारतमा काम गर्न जाने नेपाली कामदारको संख्या २० लाख छ ।

दोस्रो विश्वयुद्धताका वार्षिक ३ हजार ५०० सम्म नेपाली युवा भर्ती लिने गरेको बेलायतले अहिले २५० देखि ३०० हाराहारीमा नेपाली भर्ती लिने गरेको छ । सीमित संख्याको बेलायती सैनिक हुनका लागि वर्षेनि दशौं हजार युवा प्रतिस्पर्धा गर्छन् । सयौं तालिम केन्द्रमा महीनौं धाएर कठिन मिहिनेत गर्दा पनि असफल हुनेहरू जसरी भए पनि विदेश जाने र त्यहींको सुरक्षा फौजमा भर्ती हुने प्रवृत्ति बढिरहेको सुरक्षा विश्लेषक बस्न्यातकोे भनाइ छ ।

यसका अलावा दुई वर्षदेखि भारतीय सेनामा जाने युवाहरूको बाटो छेकिएको छ । हरेक वर्ष १५०० देखि २ हजारसम्मको संख्यामा नेपाली भारतीय सेनामा भर्ती हुन्थे । भारतमा विवादास्पद अग्निपथ कार्यक्रम लागू भएपछि सरकारले नेपाली युवाहरूलाई भर्तीको स्वीकृति दिएको छैन । भारतले नेपाली युवालाई उसको सेनामा भर्ती गर्न छाडेको छ ।

“खाडी मुलुकमा जानुभन्दा बेलायती र भारतीय सैनिकमा जानु सम्मानित काम मानिन्थ्यो । बेलायतले पनि नेपालीको संख्या घटायो । भारतमा पनि अग्निपथले बाधा पुर्‍यायो” भूतपूर्व बेलायती गोर्खा सैनिकको संगठन (गेसो)का अध्यक्ष कृष्णकुमार राई भन्छन्, “यस्तो अवस्थामा रूसमा पढाइ सकेर बसेका वा पढिरहेकाहरू देशमा आएर पनि के गर्ने भन्ने सोचाइका कारण समेत विदेशी सेनामा भर्ती भइरहेका छन् ।” 

“पहिलो त उनीहरूको भर्ती नेपालको परराष्ट्र नीति विरुद्ध छ । अर्को, हतियार खेलाउन अभ्यस्त भएर युवाहरू फर्किंदा नेपालभित्र पनि गलत तत्वले प्रयोग गर्ने खतरा रहन्छ, पूर्व उपरथी बस्न्यात भन्छन्, “तसर्थ, नेपालीहरू कुन एजेन्टबाट कहाँ गएका छन् भन्ने विषयमा रोजगारीको समीक्षा हुनुपर्छ । अन्यथा सुरक्षा मामिलामा हाम्रो रणनीतिक गल्ती हुनेछ ।”


जसले ज्यान गुमाए 

अभिलेख अनुसार रूसी फौजमा भर्ती भएर ज्यान गुमाउने गोरखाका सन्दीप थपलिया पहिलो नेपाली हुन् । अर्का हुन्, इलामका गंगाराज मोक्तान । नेपाली सेनामा पाँच वर्ष काम गरेर दुबई गएका उनी उतैबाट रूस पुगेर त्यहाँको फौजमा भर्ती भएका थिए । उनको परिवारका अनुसार २०७६ सालमा दुबई गएका गंगाराज सोचे जस्तो काम नपाएपछि अरू साथीहरू जस्तै रूसी फौजमा भर्ती हुन गएका थिए ।

उनी अन्तिम पटक कात्तिक २८ गते टेलिग्राममा अनलाइनमा देखिएका थिए । मंसीर १० गते उनले ज्यान गुमाएको खबर आयो । त्यसबाहेक रोजगारीको लोभमा नेपालबाट केही युवाहरू सीधै रूस गएको वैदेशिक रोजगार विभागको अभिलेखमा देखिन्छ । रूसमा ज्यान गुमाएका दोलखाका राजकुमार रोका पनि सशस्त्र प्रहरीको जागिर छाडेर भिजिट भिसामा रूस पुगेका र फौजमा भर्ती भएका थिए । दोलखा मेलुङका रोका दुई महीनाअघि मात्र रूसी फौजमा भर्ती भएका थिए । मेलुङ गाउँपालिका ६ नम्बर वडाका वडाध्यक्ष कुसुम लामाले रोकाले लडाइँमा ज्यान गुमाएको बताएका छन् । रोकासँगै स्याङ्जा पुतलीबजार–५ ठूलास्वाराका प्रितम कार्कीले रूसी युद्धमा ज्यान गुमाएका छन् ।


घुमाउरो बाटो गैरकानूनी भर्ती

चरम बेरोजगारी र युवाको विदेशी सेनाप्रतिको झुकावलाई राम्रोसँग बुझेका केही धनी राष्ट्रले अवैध हिसाबले भन्दा पनि द्विपक्षीय सम्झौता गरेर नै नेपालीलाई सेनामा लिने प्रस्ताव गरिरहेका छन् । जस्तोः सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्नुअघि कतारले ८ हजार नेपाली युवालाई कतार प्रहरीमा भर्ती गराउन पहल गरेको थियो । पछि आएर म्यानपावर व्यवसायी र सरकारको बीचमा मतभिन्नता देखिएपछि यो भर्ती प्रक्रिया अघि बढ्न सकेन र रद्द भयो ।

गएको भदौ १४ गते बहराइनले सरकारी संयन्त्र मार्फत नै रोयल गार्डमा भर्तीको प्रस्ताव श्रममन्त्री शरतसिंह भण्डारीसमक्ष गरेको छ । रोयल गार्ड बहराइनी सेनाअन्तर्गत रहेर राजा, राजपरिवारको सुरक्षा गर्ने दस्ता हो । बहराइनी राष्ट्रिय सुरक्षा सल्लाहकार समेत रहेका बहराइन रोयल गार्डका कमान्डर जनरल शेख नासिर बिन हमाद अल खालिफाका दूत क्रिस्टोफर बर्रोबस र मोहम्मद जुमाले प्रस्ताव गरे पनि नेपालले केही जवाफ दिएको छैन ।

औपचारिक रूपमा सरकारी संयन्त्र मार्फत रोयल गार्डमा नेपाली  भर्ती भएका छैनन् । तर पनि सेवा निवृत्त बेलायती र भारतीय गोर्खाहरूले काम गरिरहेका छन् । म्यानपावर कम्पनी मार्फत ४० लाख रुपैयाँसम्म खर्च गरेर कमाइको हिसाबले आकर्षक मानिएको रोयल गार्डमा भर्ती भइरहेका छन् । “रोयल गार्ड राजा–रजौटाको काम गर्ने हो । उनीहरूले निवृत्त सैनिक खोज्छन्” श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरे भन्छन्, “नेपालीहरू बहराइन, यूएई, साउदी अरेबिया लगायत देशमा रोयल गार्डको रूपमा पहिल्यैदेखि कार्यरत छन् ।”

ती देशमा कति नेपालीले रोयल गार्डको रूपमा काम गरिरहेका छन् भन्ने तथ्यांक मन्त्रालयसँग छैन । खाडी मुलुकमा काम गर्न गएका युवाहरू रूसी सेनामा भर्ती भएको बारे श्रम मन्त्रालय बेखबर छ । “रोयल गार्डमा गएका मान्छे रूसी सेनामा गएको मलाई थाहा भएन” प्रवक्ता घिमिरे भन्छन्, “हामीसँग आफ्नै मान्छे कहाँ कति फर्केर आए भन्ने रेकर्ड छैन । रोयल गार्ड कति छन्, खाडी गएका कामदार र रोयल गार्ड रूस गए भन्ने के थाहा हुनु ?”

मंसिर २७, २०८०